सर्ने तयारीमा काठमाडौं प्लाजा

२५ फाल्गुन २०७९, बिहीबार ११:२७

महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्नेगरी काठमाडौं प्लाजा सार्ने अन्तिम तयारी गरेको छ ।

महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम्झौता गर्ने तयारी गरिरहेको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दस स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी गरेको हो ।

२०७२ सालको भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यालय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभागृहमा गरी विभिन्न दस स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।