घर निर्माणमा ढुङ्गा महँगो भएपछि समस्या

२४ फाल्गुन २०७९, बुधबार १४:०८

ढुंगा महँगो भएपछि शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाह्रुले घरनिर्माण गर्न पाएका छैनन् । ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीय बासिन्दाले थाँति राखेका हुन । ढुङ्गा पाइने क्षेत्र वातावरण मध्यवर्ती सामुदायिक वनभित्र पर्दछ ।सामुदायिक वनले ढुङ्गाको राजश्व रकममा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन् । ‘पहिला ढुङ्गा सामुदायिक वनबाट ल्याउँदा प्रति ट्र्याक्टरको ट्रलीको रु एक सय ५० मात्रै बुझाउनु पर्दथ्यो’ गौरीदेवी भट्टले भने, ‘अहिले रकम वृद्धि गरेर रु एक हजार चार सय पुगेको छ, खोलाबाट घरसम्म ढुङ्गा पुग्दाप्रति ट्रली पाँच हजार बढी तिर्नु परेको छ, पहिला दुई हजार पाँच सय मै ढुङ्गा घरसम्म्म पुग्ने गरेको थियो ।’

उनले घर निर्माण गर्दा छिमेकीसँग ढुङ्गा र काठ पैँंचो लिएकोमा तिर्न नसकिएको उनले बताए। ‘सामुदायिक वनमा पालो आएपछि तिर्ने योजना थियो, सामुदायिक वनले सबैमा मूल्य वृद्धि गरेपछि खरिद गर्न सकिएको छैन’ उनले भने । उपभोक्ताले ढुङगाको रोयल्टी बापतको रकम तिर्न नसक्ने भएपछि वन क्षेत्रबाट ढुङ्गा ल्याउने कार्य बन्द रहेको सामुदायिक वनका स्थानीय उपभोक्ता कालु सिंह ठुन्नाले बताए ।

‘ढुङगाबाटै घरको जग राख्ने कार्य गरिँदै आएको छ, महँगो भएपछि खरिद गर्ने क्षमता सबैसँग छैन’ उनले भने, ‘ढुङगा महँगो भएपछि सबै उपभोक्ताले किन्न सकेका छैनन्, घर निर्माणका कार्य एक वर्षदेखि ठप्प रहेको छ ।’

घर निर्माणको कार्यसंगै गोरबरग्यास निर्माणको कार्य प्रभावित भएको उनको भनाइ रहेको छ । ‘सामुदायिक वन संरक्षण गरी हराभरा बनाएर यहाँसम्म पु(याएका छौँ’ जगदीश रोकायाले भने,’प्राकृतिक स्रोतसाधन उपभोग गर्नसकेका छैनौँ ।’ सामुदायिक वनका पूर्वध्यक्ष पुष्करबहादुर सिंहले सामुदायिक वनले कार्ययोजना र विधान अनुसार ढुङगा लगायका प्राकृतिक वस्तु उपभोक्तलाई सहज रुपमा उपभोग गर्न दिनुपर्ने बताए ।

आर्थिक रुपमा विपन्न अवस्थाका उपभोक्ताले नदीजन्य पदार्थ खरिद गर्न नसक्दा घर निर्माण गर्नबाट वञ्चित रहदै आएको उनले उल्लेख गरे । ‘चर्को मूल्य तोकेर उपभोक्तालाई मर्कामा पार्न खोजिएको छ’ उनले भने, ‘पहिला जस्तै सहज रुपमा नदीजन्य पदार्थमा उपभोक्ताको पहुँच पु(याउनुपर्छ ।’विसं २०७२ देखिनै उपभोक्तालाई दाउरा, काठ सामुदायिक वनले घाट गद्दिबाटै उपलव्ध गराउँदै आएकोमा हाल दाउरा, काठसमेत सामुदायिक वनले उपलव्ध गराउन सकेको छैन, दाहसंस्कार गर्नसमेत सामुदायिक वनसँग दाउरा नहुनु विडम्बना भएको उनको भनाइ छ ।

सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले मन्त्रिपरिषद्को बैठकबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा रहेका खोला नालाबाट उपलव्ध गराइदै आएको ढुङगाको मूल्यमा वृद्धि गरिएको बताए । ‘माथिबाटै मूल्य बढाइएको छ’ उनले भने, ‘हामीले उपभोक्तालाई चाहेर पनि सस्तो गर्न सकेका छैनौँ ।’ महँगो नलिने भनेपछि ढुङ्गा आपूर्तिको कार्य ठप्प रहेको उनले बताए ।