स्थलमार्गबाट समस्या देखिएपछि हेलिकोप्टरबाट हुम्लामा नुन ढुवानी

२४ फाल्गुन २०७९, बुधबार १२:४४

हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ।

कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाका अनुसार सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको हो। कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ। नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो।

हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुन्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकोप्टरभित्र राख्नभन्दा झुन्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ।

चालु आर्थिक वर्षको दुई हजार दुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुरु छ। खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ। प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन्।गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको छ।