प्रचण्डविरुद्धको रिटमाथि पर्सि (बिहीबार) सुनुवाई हुदै

२३ फाल्गुन २०७९, मंगलवार १६:०३

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । रिटमाथि सुनुवाई गर्न अदालतले पर्सि बिहीबारको पेसीसमेत तोकेको छ ।

प्रधानमन्त्रीलाई पक्रेर मुद्दा चलाउन आदेशको माग गरिएको रिट अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायतले छुट्टाछुट्टै दायर गरेका हुन् । निवेदकहरुले संक्रमणकालीन न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडितहरुको माग सम्बोधन गर्न सरकारले लामो समयदेखि उदासीनता देखाएको आरोप लगाएका छन् ।

सरकार उदासीन भएकै कारण आफूहरुले अदालतसमक्ष निवेदन गर्नुपरेको उनीहरुको भनाइ छ । सशस्त्र द्वन्द्वको क्रममा नियन्त्रणमा लिएर गरिएका कुनै पनि हत्यालाई अपराधीकरण गर्नुपर्ने र पीडकलाई सजायको व्यवस्था नभएसम्म संक्रमणकालीन न्यायको टुंगो नलाग्ने उनीहरुको निवेदनमा उल्लेख छ ।

सर्वोच्चले प्रधानमन्त्रीलाई पर्सि बिहान १० बजे अदालतमा हाजिर हुन भनेको छ ।