पर्यटनको प्रबल सम्भावना बोकेको मसिने लेक (सेङलेङ)

२१ फाल्गुन २०७९, आईतवार १३:२९

अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारबाट नजिकै पर्ने सेङलेङ डाँडा जिल्लाकै पर्यटकीयस्थलमध्ये एक हो । यस स्थल नजिकै जिल्लाको सबैभन्दा अग्लो डाँडा ‘मसिने लेक’ (२२७३ मि.) पनि पर्दछ ।

कुनै समय शासकको अत्याचारबाट जोगिन विकट ठाउँ खोज्दै हिँड्दा आफ्ना पूर्खाहरू यहाँ आइपुगेको बताउँछन् । स्थानीय विद्यालयका शिक्षक शालिकबहादुर समाल मगरले त्यो विकट ठाउँ सेङलेङ अहिले मोटरबाटो र विद्युतीकरणले छोएपछि सुगम बनेको बताए।

यस्तै खानेपानीको समस्यालाई लिफ्टिङ प्रविधिबाट तानेर समाधान गरिएको छ । डाँडामा जताततै चाँप र गुराँशका रुखहरू देख्न पाइन्छ । सिंगो पहाड गुराँश फुल्ने समयमा अबिरमा लत्पतिएजस्तो राताम्य बनेको हुन्छ, भने चाँप फुल्ने समय गुलाबी रङमा रंगिएको हुन्छ ।

डाँडामा सुन्दर तलाऊ पनि छ जसले त्यहाँको प्रकृतिमा थप सुन्दरता बढाइदिएको छ । डाँडामा मगरबस्ती छ । त्यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका प्रसिद्ध हिमालहरू पनि नजिकै देख्न पाईन्छ ।

अहिले विदाका दिनमा सन्धिखर्क र आसपासका ठाउँबाट यहाँ बनभोज आदि रमाईलो भ्रमण गर्नेहरूको लर्को लागेको देखिन्छ  सन्धिखर्कबाट मात्र नभइ बुटवल, दाङ आदि छिमेकी जिल्लाका बजारबाट बिहान यहाँ आएर साँझ घर फर्कन सकिन्छ । उत्तर फर्केको यो डाँडा बाह्रै महिना शीतल हुन्छ ।

जिल्लाका सरकारी निकाय र सरोकारवालाहरूले यहाँ होमस्टेलगायतका सुविधाका बारेमा दीर्घकालीन योजना बनाउने हो भने यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा देशैभरि चिनाउन सकिन्छ।

लेख : पिताम्बर बेल्बासे