प्रतिनिधीसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित, कारण यस्तो

१७ फाल्गुन २०७९, बुधबार १२:२९

आजको प्रतिनिधीसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

आज दिउसो १ बजे बस्ने भनिएको प्रतिनिधीसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित भएको जारी गरेको सूचनामा उल्लेख छ । आज अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा पुगेपछि आजको बैठकमा एमाले सांसदहरु प्रमुख प्रतिपक्षको लहरमा बस्ने तयारी थियो ।

कांग्रेस सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षकै लहरमा थियो । सचिवालयले यो प्राविधिक समस्या टुंगो नलगाउँदै बैठक स्थगित भएको हो । यसबीचमा सरकार पुनर्गठन भएर कांग्रेस सरकारमा सहभागी भइसकेपछि एमाले प्रमुख प्रतिपक्षको लहरमा बस्नेछ ।