लुम्बिनीमा एमालेको सरकारलाई किन अल्पमतमा पारिदैछ ?

१७ फाल्गुन २०७९, बुधबार ११:३६

आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ। आज दिउँसो १ बजे करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले बताए ।यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् ।

लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् । यता, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जसपा, लोसपा र जनमतका तीन– तीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक–एक र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।