अर्घाखाँचीमा ३ सय भन्दा बढी कुकुरलाई लगाइयो रेविजको भ्याक्सिनेसन

१६ फाल्गुन २०७९, मंगलवार १६:५६

अर्घाखाँची जिल्लामा छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ।

तीन सयभन्दा बढी छाडा तथा घरपालुवा कुकुरको सन्धिखर्क नगरपालिकाले स्थायी बन्ध्याकरण गरेको हो। छाडा तथा घरपालुवा कुकुरले बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा टोक्ने तथा लखेट्ने समस्या बढ्न थालेपछि नगरपालिकाले कुकुर नियन्त्रण अभियान थालेको हो। जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी तीनसय भन्दा बढी कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ।

बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरले मानिस तथा अन्य घरपालुवा जनावर पशुपक्षीमा आक्रमण गर्ने, झम्टिने, अराजक स्वभाव देखाउने गर्दा मानिसमा त्रास बढेको थियो । यस्तै बिहानको समयमा विद्यालय जाने विद्यार्थी तोक्ने, झम्टने र रेबिजको जोखिम बढेकाले कुकुर नियन्त्रण गर्न स्थायी बन्ध्याकरण शिविर चलाइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

आज घरपालुवा तथा भुस्याहा कुकुरमा स्थायी बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसन दोस्रो चरणको ३ दिने शिविर सन्धिखर्कमा सम्पन्न भएको छ। शिविरमा तीन सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ। यस्तै गत कात्तिक महिनामा पनि नगरपालिकाले २०८ वटा कुकुरमा स्थायी बन्ध्याकरण गरी रेबिज खोप लगाईको थियो।