जेलमुक्त भएर तनहुँबाट काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ ।
पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको हो । पल आउनुअगावै उनको स्वागतमा विमानस्थलको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो ।
भिडका कारण पललाई लिन गएको गाडी टर्मिनलभित्रै पठाइयो । गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो । पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।
त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् ।
बलात्कारको आरोपमा जेलमा रहेका अभिनेता शाह सोमबार मात्रै जेलमुक्त भएका थिए। उनलाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो।
