नेपाललाई लक्षित गरेर भट्टराईले गरे यस्तो टिप्पणी

१५ फाल्गुन २०७९, सोमबार १३:११

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने ८ दलीय बैठकको निर्णयप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

डा.भट्टराईले नेपालप्रति इंगित गर्दै उनले दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्न आउने भन्दै उनले व्यंग्य गरेका हुन् ।
‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ’, सोमबार सामाजिक सञ्चाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ?’

शुक्रबार कांग्रेस, माओवादीसहित ८ राजनीतिक दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने, प्रचण्डपछि एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने र अन्तिम कार्यकाल कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो ।