अभिनेता पल शाह आज रिहाइ

१५ फाल्गुन २०७९, सोमबार ११:३१

उच्च अदालत पोखराले नाबालिका बलात्कारसम्बन्धी मुद्दामा अभिनेता पल शाह सफाइ दिएपछि आज रिहाइ हुँदैछन्।

आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेका थिए।

शाहलाई थुना वा कैदमा राख्न नपर्ने भएकाले त्यही ब्यहोराको पत्र उच्चले जिल्ला कारागार तनहुँलाई लेखी पठाउने आदेशसमेत गरेको छ। सोअनुसार पत्राचार पूरा भएपछि शाह रिहा हुनेछन्।

यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो। त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहले तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका छन्।

नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो। यस्तै उच्च अदालतले आइतबार अभियोग दाबी नपुग्ने भन्दै जिल्लाको फैसला उल्ट्याएपछि अभिनेता शाह आज रिहा हुने भएका हुन्। प्रक्रिया पूरा गरी उनी आज रिहा हुँदैछन्।

कांसकी एक किशोरीले अभिनेता शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरेका थिए।