फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एमालेले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ । एमालेले २५ गतेसम्म आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिका साथ तत्काल सरकारमै रहेर राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । यो बीचमा एमालेले आठ दलीय गठबन्धन भत्काएर आफ्नो पक्षमा नतिजा ल्याउन भरपुर प्रयास गर्ने निश्चित छ ।
शनिबार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराए । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। पौडेलअघि नै नेम्वाङले संसद भवन पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रपति बन्ने पक्का जस्तै भएपछि रामचन्द्र पौडेल भन्छन्, “मैले अपेक्षा गरेको हो एमालेले सहयोग गर्छ। केपि ओली जी मसंगै धेरै समय जेल बस्नु भएको हो पुरानो साथी पनि हो। यो राष्ट्रको साझा पद भएको हुनाले वहाँले पनि योगदान गर्नु होला भने विश्वास गरेको छु।”
