एनसेलमाथि सरकारको सौतेनी व्यवहार

११ फाल्गुन २०७९, बिहीबार १७:४१

फाइभजी परीक्षण तोकिएको समयभन्दा ६ महिना ढिला हुँदा पनि नियामकले ‘जेठो छोरा’ लाई मात्र पोसिरहेको एनसेल आजियटाका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले बताएका छन् ।

बिहीबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यायले नियामक निकायले फाइभजी परीक्षणका लागि अनुमति नदिँदा आफ्नो कम्पनीले फाइभजी सेवाको प्रक्रिया अगाडि बढाउन नसकेको उल्लेख गरे ।

“फाइभजी ट्रायल गएको जुलाई महिनामा लञ्च गरिसक्नुपर्ने हो, तर ६ महिनासम्म लञ्च हुन नसक्दा पनि जेठै छोरालाई मात्र पोस्छु भन्ने कुरा अपाच्य जस्तो लाग्छ,” उनले भने, यसकारण म सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हामीले आवेदन दिएका छौँ चाँडोभन्दा चाँडो अप्रुभ गरिदिएको खण्डमा एनसेलले पनि खान पाउने थियो,” उनले भने ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हाल नेपाल टेलिकमलाई मात्र फाइभजी परीक्षणको अनुमति दिएको छ । यसअन्तर्गत टेलिकमले आन्तरिक परीक्षणको काम गरिरहे पनि सुस्त छ । फाइभजी परीक्षण गर्न एनसेलले अनुमति मागेको छ महिनासम्म पनि नियामक निकायले अनुमति नदिनुलाई अभिभावकबाट सौतेनी व्यवहार भएको संकेत उपाध्यायले गरे ।

एनसेल पनि बजारको प्रतिस्पर्धी कम्पनी भएकाले फाइभजी परीक्षणको अनुमति एउटा कम्पनीलाई मात्र दिनु उचित नहुने उनको भनाइ थियो ।

“एउटा कम्पनीले मात्र ट्रायल गरेर हुँदैन । समस्या अरु अपरेटरलाई पनि आउँछ । टेक्निकल इस्युजु हामीलाई पनि आउनसक्छ । तर हामीसँग अर्को पाँच ओटा देशको पनि अनुभव पनि छ । यसकारण अनुमति दिएको खण्डमा निश्चित समयमा काम गरेर देखाउनसक्ने क्षमता राख्छौँ,” उनले भने ।