प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला धोका दिन सक्ने आशय नेकपा एसका नेताहरूसँग व्यक्त गरेका छन् ।
राष्ट्रपतिमा माधव नेपाललाई समर्थन माग्न आएका नेकपा एसका नेताहरूसँग प्रचण्डले ओलीको प्रस्ताव विश्वसनीय नरहेको बताएका हुन् ।
बिहीवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रचण्डले ओलीबाट धोका पाउन सक्ने भएकाले आफूले राष्ट्रिय सहमतिको कुरा गरेको बताएका थिए ।
‘ओलीजीको भ्रममा नपरौं, कुनै पनि बेला धोका हुनसक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी नेकपा एसका एक नेताले भने ।नेकपा एसका नेताहरूले माधव नेपालको नाममा सहमति गर्न प्रस्ताव गरेका थिए । भेटमा नेकपाकालमा पार्टीभित्र भएको विद्रोहको बारेमा समेत छलफल भएको थियो ।
‘राष्ट्रपतिका लागि माधव कमरेडको नाम प्रस्ताव भए पनि त्यति गम्भीर लागेन,’ प्रचण्डले भनेका थिए । त्यसक्रममा माधव नेपाल भने धेरै बोलेनन् । बैठकमा नेकपा एसमा महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र नेता घनश्याम भुसाल सहभागी थिए ।
बैठकपछि नेता नेपालले देशको राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको बताए । कुराकानी चलिरहेको छ । कसरी देशको राजनीतिलाई अगाडि बढाउने भन्नेबारे छलफल गर्यौं,’ नेपालले भने, ‘अनेक अप्सन छन् हाम्रासामु । जुन अप्सनले देशको राजनीतिलाई ठीक दिशामा लैजान सक्छ, त्यही अप्सनमा जानुपर्छ ।’
माओवादी र नेकपा एसका नेताहरूबीच कांग्रेससँग मिलेर जानेबारेमा छलफल भएको थियो । भेटपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका थिए । प्रचण्डले फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने टिप्पणी गरे ।
