नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी लिग-२ एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि युएई लैजान अनुमति लिने प्रक्रिया सुरु गरेको छ।क्यानका व्यवस्थापक विनोद दासले सन्दीपलाई युएई लैजानका लागि सरोकारवाला निकायसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको बताएका छन्।
अदालतबाट अनुमति लिन हामीले सरोकारवाला निकायसँग पत्रचार गरेका छौँ, व्यवस्थापक दासले भने, “अन्तिम निर्णय अदालतले गर्ने भएकाले अनुमति पाए पठाउँछौँ, नपाए पठाउँदैनौँ। तर प्रक्रिया सुरु गरिसकेका छौँ।”
नाबालिग बलात्कार आरोपमा लागेका सन्दीपलाई उच्च आदालत पाटनले पुस २८ मा २० लाख धरौटीमा रिहा गरेको थियो, आदेशका क्रममा सन्दीपलाई विदेश भ्रमणमा रोक लगाएको थियो । त्यस्तै काठमाडौँ छाड्न पनि अदालतको अनुमति लिनुपर्ने आदेश त्यसबेला भएको थियो।
घरेलु मैदानमा मंगलबार सम्पन्न आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित खेलमा सन्दीपले उत्कृष्ट प्रर्दशन गरेका थिए।
