गायक खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिदै लेखे यस्तो दुखको स्टाटस

१० फाल्गुन २०७९, बुधबार १५:४८

चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् ।

गायक खत्रीले बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू अब कहिल्यै प्रतिष्ठानको ढोका ढक्ढकाउन नआउने निर्णय गरेको घोषणा गरेका हुन् ।

लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा गायक खत्रीले आफू संस्थाबाट बाहिरिएको घोषणा गरेका हुन् । संस्थागत सिकाई र अनुभवको आधारमा कलाकारहरूको हक हितका लागि केही गर्ने सोँचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिए पनि आफ्नो योजनामाथि वज्रपात भएको उनले बताएका छन् ।

प्रतिष्ठानमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल महासचिव पदमा रहेका गायक खत्री बद्री पंगेनी, चन्द्र शर्मा र हालका अध्यक्ष रमेश बिजीसँग अध्यक्ष पदमा पराजित भएका थिए ।

गायक खत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भन्छन्,“आदरणीय लोक संगीतप्रमी बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु,प्यारा शुभचिन्तक एवं ईष्टमित्रजन सम्पूर्णमा सादर नमस्कार।यतिबेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन नजिकिँदै गर्दा धेरैले मेरो उमेदवारीबारे चिन्ता र चासो ब्यक्त गरिरहनु भएको छ।संस्थामा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिब र एक कार्यकाल महासचिब पदमा रहि आफ्नो भुमिका निर्वाह गर्ने अवसर पाएको थिएँ।संस्थागत सिकाई र अनुभवको आधारमा कलाकारहरुको हकहितका लागि केहि गर्ने सोंचले लगातार अध्यक्ष पदका लागि मैदानमा उत्रिएको म उमेरको उर्जाशिल समय संस्थालाइ हुर्काउन बढाउनकै निम्ति घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक,भौतिक, नैतिक र सांस्कृतिक रुपले त्याग र समर्पण गरेकोले पनि एकचोटी संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केहि गर्ने दृढ सोंच संकल्प र अठोट लिएको थिएँ तर मेरो उक्त योजना माथि बज्रपात हुन पुग्यो।संस्था आफैमा पबित्र र निर्दोष हुन्छ।दुख, मिहेनत र पसिना बगाएको संस्थाको असाध्यै माया लाग्दो रहेछ। संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भुमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन। यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन म प्रति केहि सदभाव रहन्छकी भन्ने झिनो आशा राखेको थिएँ तर बिडम्बना यो सौभाग्य पनि प्राप्त गर्न सकिन नत अनुजलेनै अग्रजको सम्मान गरेर भुमिका दिने कुनै मनसाय देखियो।संस्थाको नाराले मलाईनै गिज्याएको अनुभूति भयो।अब फेरि अनुज भाईबैनी सँग चुनाबी प्रतिस्पर्धामा होमिनु शाभनिय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याई छ।बिगतमा मलाई नेतृत्वमा देख्न चाहेर स्वदेश तथा बिदेशबाट संस्थाको प्रतिनिधिको रुपमा आई मलाई आफ्नो अमूल्य मत दिएर जितको ढोकामै पुर्याउनु हुने भगवानरुपी प्यारा शुभचिन्तक प्रति आत्मैदेखि उच्च कोटिको सम्मान टक्राउँदै ढोकाबाट छिर्नै नदिने पालेदाईको पनि सदा राम्रो मात्रै खबर सुन्न पाईयोस भन्ने कामनाका साथ अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुखका साथ अबगत गराउन चाहन्छु। कलाकारको हकहितको मुद्दामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने संगै सहयात्री रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैले जस्तो अपमान र तिरस्कार संस्थामा आईन्दा कुनैपनि भाईबैनीले सहन नपरोस भन्दै आउँदै गरेको महाधिवेशनको मतगणना स्थलमा बत्ती निभ्ने झंझटबाट मुक्त भई छनोट हुनु हुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीहरुलाई हाम्ले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता,दक्षता, बिज्ञता र अनुभव सहित हातेमालो गर्न आउनुहुन हार्दिक अपिल गर्दै स्वागत गर्न चाहन्छौं।धन्यवाद।जय संस्कृति।”