नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कपको ट्रफि सार्वजनिक भएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बिच प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको हो । नेकपा एमालेको पोलिटब्युरो सदस्य एवंम पूर्व उद्योगमन्त्री महेश बस्नेतले ट्रफि सार्वजनिक गरेका हुन् ।
ट्रफि सार्वजनिक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, युवा संघका अध्यक्ष किरण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको लागत एक करोड रहेको आयोजक युवा संघका अध्यक्ष किरण पौडेलले बताएका छन् । प्रतियोगिता फाल्गुन ११ गतेदेखि १७ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा ए डिभिजनक क्लव र आयोजक युवा संघको एक टोली गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद १ लाख पाउँदा उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले नगद ५० हजार पाउनेछन् ।
प्रतियोगितामा प्रत्येक खेल जित्ने टोलीले २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेले १५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
