राष्ट्रपतिद्धारा ४३ करोडको अस्पताल उद्घाटन

९ फाल्गुन २०७९, मंगलवार १६:०८

मुलुकका सबै प्रदेशलाई संघीयताको अवधारणा अनुसार सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।

मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा राष्ट्रपति भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै यस्तो बताएकी हुन् । उनले संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष पहल थालनी गर्नुपर्नेमा जोडसमेत दिइन् ।

संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक अन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले रोग नलाग्नुमात्र स्वास्थ्य नभएको बताइन् । उनले जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पुर्‍याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठुलो भूमिका रहने बताइन् ।

शारीरिक र मानसिक रुपमा तन्दुरुस्त एवम् सकारात्मक रहन सक्नु वास्तविक अर्थमा स्वास्थ भएको उनको भनाइ छ । उनले गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्‍याउनु राज्यको महत्वपूर्ण दायित्व रहेको बताइन् । जनस्वास्थको उच्चतम लक्ष्य हासिल गर्न, नागरिकको घर दैलोमा सामान्य औषधि तथा आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेको उनले प्रस्ट पारिन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिठान, हेटौंडा अस्पतालको ३ तले भवनको उद्घाटन राष्ट्रपति भण्डारीले आज गरेकी हुन् । उक्त भवन संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।