जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ: प्रधानमन्त्री

८ फाल्गुन २०७९, सोमबार १६:४९

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दुषित हावा देखा पर्न थालेको उल्लेख गर्दै प्रधानमन्त्रीले १२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।

सोमबार कास्कीको पोखरामा पार्टीको गण्डकी प्रदेश समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन–जुन शक्तिहरू एक ठाउँमा उभिएका थिए ती शक्तिहरू पुनः एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए।

‘राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्। ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन। राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’