रविको विचार मिल्यो प्रचण्डसँग

८ फाल्गुन २०७९, सोमबार १६:२९

सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा रविले आफ्नो विचार र स्पिरिट प्रचण्डसँग मिल्ने बताएको बालुवाटार स्रोत बताउँछ ।

‘रविजीले आफ्नो विचार प्रचण्डसँग मिल्ने बताउनुभयो । आफू गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको पक्षधर भएको र यी मुद्दाहरू प्रचण्डको नेतृत्वमा स्थापित भएकोले आफ्नो विचार प्रचण्डसँग मिल्ने उहाँको भनाइ थियो, स्रोतले भन्यो ।

आजको भेटमा राष्ट्रपतिको चुनाव र चितवन –२ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको बताइन्छ । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको थियो ।

१३ माघमा नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँग रविले उपप्रधानमन्त्रीसहित गृहमन्त्री, सांसद र रास्वपाको सभापति पद गुमाएका थिए । त्यसपछि आफ्नो नागरिकता सक्रिय बनाएर उनी रास्वपाको सभापति बने । त्यसपछि उनले गृहमन्त्रीमा पुनः दाबी गरे । रविलाई पुनः गृहमन्त्री बनाउन ओलीले पनि प्रचण्डलाई दबाब दिएका थिए । तर, प्रचण्डले फैसलाको पूर्णपाठ नआउदासम्म गृहमन्त्री नदिने अडान राखे ।

यही प्रकरण बढ्दै जाँदा रास्वपाले सरकार छाड्ने निर्णय लिएको थियो । रविले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टी सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन भने कायमै रहने जानकारी दिएका थिए ।

उनले पत्रकार सम्मेलनमा प्रधामन्त्रीका बारेमा खासै केही बोलेनन् । अहिले पनि रविले प्रधानमन्त्रीसँग आफ्नो दललाई सरकारमा सामेल गराउन आग्रह गरिरहेका छन् ।