भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

८ फाल्गुन २०७९, सोमबार १३:५५

भारत सरकारले दुई सय वटा मिर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन हस्तान्तरण गरेका हुन्। करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड सङ्कटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली नागरिकले सदास्मरण गरिरहने समेत बताए।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए। उनले भने, ‘दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई देशबीच सरकार सरकारको बीचमा मात्रै नभइ नागरिकको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुई देशबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे। नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

राजदूत श्रीवास्तवले भने, ‘करिब एक वर्षअघि नेपाल सरकारको तर्फबाट २ सय वटा मिर्गौला डायलासिस मेसिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । त्यही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौँ । भारत नेपालको छिमेकी मात्रै नभइ विकास साझेदार राष्ट्रपति हो । नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ।

भारतले कोरोना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।