विवाह गर्दा वडा सिफारिस अनिवार्य

५ फाल्गुन २०७९, शुक्रबार १५:४६

सल्यानको कपुरकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विशेष अभियानअन्तर्गत विवाह गर्दा अनिवार्य रुपमा वडा कार्यालयबाट सिफारिस लिनुपर्ने नियम बनाएको छ । पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य स्वीकृति तथा सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बालविवाहले समाजमा र महिलाको स्वास्थ्यमा समेत असर पुग्ने गरेको देखिएकाले उक्त नियम सञ्चालनमा ल्याएको जानकारी दिए । ‘अहिले पनि जनचेतना र शिक्षाको अभावका कारण उमेर नपुग्दै चेलीबेटीको विवाह गराइन्छ,’ उनले भने, ‘यसरी विवाह गराएपश्चात् अधिंकाश महिलाहरु २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ ।’ महिला आफैँ शारिरिक वा मानसिक रुपमा परिपक्क नभई गर्भवती हुने गर्दा यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा खतरा हुने गरेको पालिकाको पछिल्लो स्वास्थ्य अवस्थाले देखाएकाले बालविवाह न्यूनीकरण गर्न उक्त व्यवस्था गरिएको उनको भनाई छ । अध्यक्ष पुनका अनुसार माघ २७ गते बसेको कार्यपालिकाको बैठकले विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था पारित गरेको हो ।

साथै, उक्त नियमको उल्लङ्घन गर्नेको वडा कार्यालयद्धारा विवाह दर्ता रोक्नेसम्मको कारबाही हुने उनले बताए । भने, ‘अब विवाह गर्नुपूर्व वडाको अनिवार्य सिफारिस लिनुपर्ने छ । यदि कसैले वडाको सिफारिसबिना विवाह गरेमा विवाह दर्ता गर्न आउने समयमा सो सिफारिसबिना विवाह दर्ता गरिने छैन ।’ साथै, नेपाल सरकारको कानूनबमोजिम २० वर्ष उमेर पुगेका किशोरकिशोरीलाई मात्र वडा कार्यालयद्धारा विवाह स्वीकृति प्रदान गरिने अध्यक्ष पुनको भनाई छ ।