सबैको सहमतिमा एमालेबाटै राष्ट्रपति हुने लेखराज भट्टको दाबी

४ फाल्गुन २०७९, बिहीबार १६:५८

सत्ता गठबन्धन अहिले टुट्ने अवस्थामा नरहेको नेकपा एमालेका सचिव लेखराज भट्टले बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सत्ता गठबन्धनमा समस्या नरहेको र तत्काल टुट्ने अवस्था पनि नरहेको उनले स्पष्ट पारेका हुन् ।

‘राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या सृजना हुँदैन उनले भने, ‘एमाले नेतृत्वको गठबन्धन कायम रहन्छ यो तत्काल टुट्ने अवस्थामा छैन । ’उनले सबैको सहमतिमा एमालेबाटै राष्ट्रपति हुने पनि दाबी गरे ।

‘राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ’, भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुने गरी उपयुक्त उम्मेदवार उठाउँछ। गठबन्धन कायम रहन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इङ्गित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने बताए ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका कारण एमाले सरकार ढलेको भट्टले बताए । उनले अहिलेको सरकार पनि सङ्कटमा रहेको जिकिर गरे । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने विषयमा सरकारले पहल गरेको तर सर्वोच्चमा मुद्धा रहेकाले रिहाको तिथि मिति दिन नसकेको समेत स्पष्ट पारे ।