नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधनप्रति नेकपा एमाले नेता एवम् सांसद गोकर्ण विष्टले समवेदना व्यक्त गरेका छन् ।
बुधबार राती बुधनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। घाइते भएका उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पताल उपचारको क्रममा विहीबार बिहान सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।
सांसद भण्डारीलाई भने श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्न हस्पिटल लगिएको छ । एमाले सांसद विष्ट प्रतिनिधी सभा निर्वाचनमा गत मंसिर ४ गते गुल्मी २ बाट निर्वाचित भएका थिए भने सांसद भण्डारी गुल्मी १ बाट निर्वाचित भएका थिए ।
एमाले सांसद विष्टले सामाजिक सञ्जालमार्फत समवेदना दिदै लेख्छन् “गुल्मी १ का प्रतिनिधि सभा सदस्य माननीय डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको खबरले स्तब्ध छु । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै उपचाररत मित्र चन्द्रजीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”
