नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार राति ग्यास सिलिण्डर बिस्फोट हुँदा निवास बुद्धनगरमा सांसद चन्द्र र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो।
सांसद भण्डारीलाई थप उपचारका लागि विदेशका अस्पताल लैजान कीर्तिपुर अस्पतालले सिफारिससमेत गरेको छ। उनलाई मुम्बईस्थित नेशनल बर्न्स अस्पतालमा उपचारका लागि लैजाने तयारी छ। श्री एयरलाइन्समार्फत् आज दिउँसो भण्डारीलाई मुम्बई लैजाने तयारी छ।
ओलीले भण्डारीको स्वास्थ्यलाभ कामना गरेका छन्। ‘एलपी ग्यासको सिलिन्डर बिस्फोटमा परेर प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु,’ ओलीले भनेका छन्, ‘बिस्फोटमा परेर निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
