ओपनर काइल कोट्जर र जर्ज मुन्सेले १ सय ५७ रनको अविजित साझेदारी गरेपछि आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबिया स्कटल्यान्डसँग १० विकेटले हारेको छ।
नामिबियालाई हराएको स्कटल्यान्ड आईसीसी विश्वकप लिग २ को औपचारिक रुपमा च्याम्पियन बनेको छ। नामिबियालाई हराउने क्रममा स्कटल्यान्डले १० विकेटको जित पहिलोपटक निकालेको हो। त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल भ्रमणमा रहेको नामिबिया पहिलो खेलमा सोमबार घरेलु टोलीसँग २ विकेटले हारेको थियो।
स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकमा तालिकाको शीर्षस्थानमा छ। स्कटल्यान्डको अबका बाँकी खेलमा हार भोगे पनि कुनै फरक पर्ने छैन।
यता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ। २५ खेलमा ९ मा जित र १४ खेलमा हार बेहारेको नेपाल २० अंकमा छैटौं स्थानमा छ। स्कटल्यान्डले शुक्रबार नेपालसँग खेल्नेछ।
