भारतको आयकर विभागले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्ली र मुम्बईमा रहेका कार्यालयहरूमा छापा मारेको छ । BBC कार्यालयहरूमा सिल गरेर कर्मचारीहरूको फोन नियन्त्रणमा लिइएको छ ।
भारतीय मिडियाका अनुसार कार्यालयमा छापा मारेर कर्मचारीलाई घर पठाइएको छ । छापा मारिएको विषयमा लन्डनमा रहेको बीबीसीको हेर्डक्वाटरमा पनि जानकारी दिइएको छ ।
वित्तीय अनियमितताको आरोपमा बीबीसीको कार्यालयमा आयकर विभागले छापा मारेको जनाइएको छ । १०-१५ जना सदस्य रहेको आयकर विभागको टोली बीबीसीको कार्यालय पुगेर छानबिन सुरु गरेको जनाइएको छ । कार्यालयमा आउजाउ बन्द गरिएको छ । बीबीसीको कार्यालयमा भएको छापामारीलाई भारतीय कांग्रेसले बीबीसीको डकुमेन्ट्रीसँग जोडेको छ । कांग्रेसले यसलाई अघोषित आपतकालका रूपमा टिप्पणी गरेको छ ।
केही समयपहिले बीबीसीले एउटा डकुमेन्ट्री सार्वजनिक गरेको थियो । उक्त डकुमेन्ट्री सन् २००२ को गुजरात दंगासँग सम्बन्धित थियो । भारतीय सरकारले त्यसलाई प्रोपोगान्डा भन्दै त्यसको प्रसारणमा रोक लगाएको थियो ।
