शारीरिक रुपमा अशक्त एक महिलाको श्रीमान‍्को कुटाइबाट मृत्यु

२ फाल्गुन २०७९, मंगलवार १३:२९

दैलेखमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमतिबीचमा विवाद हुँदै आएको थियो। विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए। गत मंसिरमा मात्रै उनीहरूको विवाह भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए। श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको प्रहरीले जनाएको छ।