यातायात मजदुर संघसंग सहमति, सवारीसाधन पुनः सञ्चालनमा

२ फाल्गुन २०७९, मंगलवार १०:४२

सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले बन्द, हड्ताल फिर्ता लिने घोषणा गरेका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् ।

साथै आजै सार्वजनिक सवारीसाधन पुनः सञ्चालन गरिने भएको छ । मन्त्रालयका अधिकारीले तत्काल बन्द, हड्ताल रोकी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेका थिए । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्री श्रेष्ठले जायज मागहरू पूरा गरिने बताएका थिए । यातायात क्षेत्रको समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको उनको भनाइ रहेको छ ।