टर्कीमा भूकम्प गएको एक सय ७८ घण्टापछि एक ७० वर्षीया महिला र छ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ । हाते प्राप्तमा भत्किएको एउटा तीन तले घरको भग्नावशेषबाट ७० वर्षीया महिला र अदियामानमा रहेको एक अपार्टमेन्टको भग्नावशेषबाट छ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ ।
यसअघि गाजियन्टेप प्रान्तमा पनि भूकम्प गएको एक सय ७० घण्टापछि ४० वर्षीय पुरुषको जीवितै उद्धार भएको थियो । भग्नावशेषमा पुरिएको लामो समयसम्म पनि जीवितै उद्धार हुनुलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चामत्कारिक घटना भनेका छन् । विज्ञहरूले भने भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्ने बताउँछन् ।
