राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चित्र देखिएको छैन: वसन्त कुसवाह

१ फाल्गुन २०७९, सोमबार १८:३८

जनमत पार्टीको दुई दिने केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सम्पन्न भएको छ। बैठकमा राष्ट्रपति निर्वाचन र संगठन सुदृढीकरणका विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष वसन्त कुसवाहले जानकारी दिए।

राष्ट्रपति निर्वाचनका विषयमा गम्भीर छलफल भए पनि पार्टीले कुनै निष्कर्ष निकाल्न नसकेको उनले बताए। राष्ट्रपतिमा उम्मेदवार कसलाई उठाउने वा सत्ता गठबन्धनबाट उठ्ने उम्मेदवारलाई नै समर्थन गर्ने कि अन्य कुनै भन्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए।

राष्ट्रपति निर्वाचनसहित अन्य विषयमा छलफल गर्न आगामी साता अर्को बैठक बस्ने उनले बताए। उनले भने, ‘राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चित्र देखिएको छैन। यस बारे निर्णय लिन आगामी साता बैठक बस्ने छ। त्‍यस्तै बैठकले देशभर पार्टीको संगठन विस्तार गर्न अभियान चलाउने निर्णय गरेको छ।’