नेपाली कांग्रेसले राष्ट्रपतिको लागि दिने उमेदवारप्रति नेकपा माओवादी केन्द्र लचक हुने संकेत देखिएको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले छलफल गरेका छन्। देउवा र प्रधानमन्त्री प्रचण्डबीच शनिबार बेलुका झण्डै डेढ घण्टा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको स्रोतले जनाएको छ।
पछिल्लो समय कांग्रेस र माओवादी नेताहरुहरुको भेटघाट बाक्लिएको छ। बिहीबार कांग्रेस महामन्त्री गगन थापा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि पनि देउवाले प्रचण्डसँग छुट्टै छलफल गरेका थिए। उनीहरुबीच दुई घण्टाभन्दा बढी गम्भीर छलफल भएको धुम्बाराही स्रोत जनाएको छ।
उनीहरुको भेटमा राष्ट्रपतिको सम्भावित उमेदवारहरुको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी, उनीहरुले छलफल गरेका सम्भावित उमेदवारहरुको नाम भने स्रोतले खुलाउन चाहेन।
नेपाली कांग्रेसले आफूले भनेको व्यक्ति राष्ट्रपति हुनुपर्ने दावी गर्दै आएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ। राष्ट्रपतिको विषयलाई लिएर कांग्रेस सभापति देउवाले गत साता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। देउवाले नेपालसँग राष्ट्रपतिमा कांग्रेसले उमेद्ववारी दिने र त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।
एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड राष्ट्रपति निर्वाचनको विषयलाई लिएर कांग्रेससँग नजिकिएका छन्। प्रचण्डले वर्तमान सरकारलाई कांग्रेसको समेत समर्थन भएकाले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री मात्र होइन माओवादी केन्द्रका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले समेत राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। तर एमालेले आफूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने दावी गरेको छ।
