संयुक्त संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीको सम्बोधन सुनेर बालकोट लाग्नुअघि एमाले अध्यक्ष केपी ओली लोसपा अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो कारमा पस्न सहजीकरण गर्दैै थिए । ठाकुर तिनै नेता हुन्, जसले ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदैगर्दा समर्थन दिएका थिएनन् । विश्वासको मत चाहिँ दिएका थिए ।
ठाकुर गाडीभित्र पसेपछि छिर्नै लागेका ओलीलाई रोकेर सञ्चारकर्मीले सोधे, ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौंको सरकार के होला अध्यक्षज्यु ?’
ओलीले भने, ‘हेर्दैजाउँ ।’
स्पष्टवक्ता ओली आज बानेश्वरमा स्पष्ट सुनिएनन् । उसो त उनले आफूले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने जिकिर नदोहोर्याएका होइनन् । तर बालुवाटार र बालकोटका पछिल्ला बैठकहरु उनले ‘चाहेकै व्यक्ति’ तर्फ लक्षित छैनन् । त्यसको असर उच्चस्तरीय संयन्त्र बैठकमै पर्न गयो । घरि स्थगन, घरि अर्को तिथिमा संयन्त्र अड्केको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका आइनपुगेको कारण देखाउँदै बिहीबार उच्चस्तरीय संयन्त्र बैठक रोकिएको थियो । शुक्रबार उनी केही ढिलोगरी आइपुगे, तर त्यसले कुनै नतिजा दिन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सुषुप्त द्वन्द्व बिस्तार हुँदै जाँदा त्यसको असर संयन्त्रमा पर्न थालेको हो । ओली संयोजक रहेको संयन्त्र बैठकमा रास्वपा सभापति रवि लामिछाने उपस्थित थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सत्ता–बहिर्गमित तिनै लामिछानेलाई देखाउँदै ओलीले प्रधानमन्त्रीलाई भने, ‘उहाँहरु बाहिरिएको प्रोसेस नै त्यत्ति मिलेको जस्तो लाग्दैन प्रधानमन्त्रीजी । पुस १० को सहमति कार्यान्वयन गर्दै फेरि सरकारमा ल्याउनुपर्यो स्वतन्त्र पार्टीलाई ।’
प्रधानमन्त्रीले ओलीलाई ‘हुन्छ’ भन्न सकेनन् । ‘हुन्न’ भन्ने स्थिति नै थिएन । मौनतामै उनले आफूलाई सीमित राखे । बैठकपछि कुरा गर्दै एक सहभागी नेताले भने, ‘पहिलेका बैठकमा उहाँहरुको सल्लाह ठ्याक्क मिल्थ्यो । बाहिर छुट्टै सल्लाह गरेर संयन्त्रमा आएजस्तो लाग्थ्यो हामीलाई । अचेल आ–आफ्नै लाइन छ ।’
ती नेताका अनुसार अभुतपूर्व विश्वासको मत पाएपछि प्रचण्डमा जुन आत्मविश्वास बढेको छ, त्यसलाई ओलीले सहज रुपमा पचाइरहेका छैनन् । क्याबिनेटमा नबसे पनि सत्तामाथिको सर्वाधिकार बनाएका ओलीलाई प्रचण्डले धीमा चुनौती पेश गर्न थालेका छन् ।
आज शुक्रबारको संयन्त्र बैठकमा त्यसको प्रत्यक्ष प्रभाव पर्यो । संयन्त्र बैठक सुरु हुने बित्तिकै प्रचण्डले राष्ट्रपति चुनावको प्रसंग उप्काएका थिए । हिजो बिहीबारमात्रै उनले दलका कार्यकर्ता राष्ट्रपति हुँदा दुःख पाएको भन्दै अब साझा र सर्वस्वीकार्य व्यक्तिको खोजी गर्ने टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको साझा उम्मेदवार भन्नेबित्तिकै एमाले अध्यक्ष ओलीले उनीतिर नहेरी, तर उनैलाई लक्षित गर्दै फर्काए, ‘अब यसमा सल्लाह गर्नुपर्ने कुरा के छ र ? त्यो त हामीबीचमा सहमतिमा पहिल्यै तय छ नि होइन र ?’
पुस १० मा ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले प्रचण्डलाई प्रधानमन्त्री बनाएको हो । राष्ट्रपति र सभामुख एमालेको भागमा जान नेताहरु सहमत भएका थिए ।
प्रधानमन्त्रीले आजको बैठकमा राष्ट्रपति राष्ट्रकै अभिभावक भएकाले त्यसमा व्यक्ति छनोट हुँदा साझा एकताको सन्देश जानुपर्ने तर्क गर्न खोजे । तर ओलीले कांग्रेसको भ्रममा नपर्न र अरु कुनै किसिमको टिप्पणी गरेर समझदारी नबिगार्न परोक्ष चेतावनी दिए ।
एमालेको पछिल्लो सचिवालय बैठकमा ओलीले राष्ट्रपति चुनावको विषयमा कुनै टिप्पणी गर्ने बेला आइनसकेको भन्दै नेताहरुलाई नबोल्न निर्देशन दिएका थिए । संयन्त्रको आजको बैठकपछि नेताहरुले नयाँ सत्ता समीकरणका लागि असहजता बढ्दै गएको निष्कर्ष निकालेका छन् ।
‘सुदुरपश्चिममा विश्वासको मत नपाएर सरकार ढलेको, कांग्रेसका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले समर्थन गरेको देखिहाल्नुभो,’ एक नेताले भने, ‘एमालेको ठाउँमा माओवादीको मुख्यमन्त्री भएको भए कांग्रेसले खुरुक्क भोट हाल्थ्यो । यहीँबाट बुझ्नुस्, परिस्थिति कुन हदसम्म बिगार्न खोजिएको छ ।’
प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले सरकारका कतिपय स्वायत्त काम कारबाहीमा मन्त्रिपरिषदमै नभएका सदस्य हाबी हुन खोज्दा गलत सन्देश जाने भएकाले प्रधानमन्त्री रोकिन खोजेको तर्क गरे । ‘राष्ट्रपतिमा छलफल गरौं भन्ने प्रधानमन्त्रीको प्रस्ताव ओलीजीले मान्नुभएन, त्यसपछि ओलीजीले रास्वपालाई फेरि सरकारमा ल्याउनुपर्छ भन्दा प्रधानमन्त्रीले पनि नसुन्ने स्थिति बन्यो,’ ती नेताले भने, ‘शीर्ष तहमा असमझदारी सुरु भएको छ, तर यत्तिका कारण अहिले सत्ता समीकरणमै प्रतिकुलता आउला भन्ने मलाई लाग्दैन ।’
एमाले उपमहासचिव विष्णु रिमालले केही छिटफुट अवरोध देखिएको स्वीकार गर्दै यसका बाबजुद हालको सत्तासमीकरण अगाडि बढ्छ भन्ने विश्वासमा एमाले रहेको बताए । राष्ट्रपति चुनावका बारेमा अहिले नै कुनै निष्कर्ष निकाल्न हतारो हुने भन्दै उनले भने, ‘विभिन्न कोणबाट तर्कहरु आएका छन्, तर हामीले पुरानो गठबन्धन भत्काएर जुन नयाँ समीकरण बनाएका छौं, त्यसैभित्रको सहमति पालना हुन्छ । यसबाहेक अरु केही होला भन्ने लाग्दैन ।’ अनलाइनखबर
