थाइ स्माइल एयरवेजका प्रतिनिधिसँग आर्थिक लाभ लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले गरेको संवादको अडियो बारिएको छ। विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि आएका कम्पनीका प्रतिनिधिसँग ठाकुरले कुरा गरेको उक्त अडियोमा छ ।
सो संवादमा कम्पनीका प्रतिनिधिसँग अनधिकृत आर्थिक लाभ दिलाउन प्रस्ताव गरेको आरोपमा उनी निलम्बित भइसकेका छन् । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत पनि उनको यो अडियोमाथि छानबिन हुनेछ ।
उक्त अडियो संवादमा कुन प्रयोजनका लागि रकमको लेनदेनको कुरा भएको हो खुल्दैन । तर, कम्पनीका प्रतिनिधिले रकम खर्चिंदा समस्या रहेको बताएपछि ठाकुरले ‘रवि’को नाम लिंदै उसैसँग कुरा भइसकेको बताउँछन् । कुराकानीमा रवि को हुन् भन्ने स्पष्ट खुल्दैन । तर, थाइ स्माइल एयरवेजका ‘जीएसए’ (जनरल सेल्स एजेन्ट) रवि सिंहको नाम लिएको जस्तो बुझिन्छ ।
ठाकुरले थाइ एयरवेजको सबै काम बैंककबाट हुने कुरा थाहा भएको र ‘रवि’ले सबै कुरा भएर टुंगिसेकको बताएको दोहोर्याउँछन् । उनीहरुबीच पैसाको कुरा हुन्छ । ठाकुरले रविले नै सबै बन्दोबस्त गर्न सक्ने बताउँछन् ।
