गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्ने चुनौती बाँकी नै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शिलापत्र डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिदै गणतन्त्र र संघीयतालाई संस्थागत गर्न चुनौती चिर्न शिलापत्र डटकमलगायत मिडियाले सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
मुलुकमा गणतन्त्र प्राप्तिका लागि भएको विभिन्न जनआन्दोलन, सशस्त्र संघर्षमा सञ्चारमाध्यमको अतुलनीय योगदान थियो । ३ असोज ०७२ मा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएपछि एक चरणको राजनीतिक क्रान्ति पूरा भई नेपाल आर्थिक समृद्धिको पथमा लागेको छु । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, नेपालमा आर्थिक विकासमा जोड दिई गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्ने हाम्रासामु तत्कालीन चुनौती छन् । यसका लागि पनि मिडियाको सहयोग अपरिहार्य हुन्छ ।
जसरी देशमा सबै पक्ष मिलेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियान चलाइयो, त्यसरी नै यसलाई संस्थागत गर्न शिलापत्रजस्ता सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सुशासन तथा भ्रष्टाचारविरुद्ध सशक्त तथा निष्पक्ष भई सरकार, संसद् र सरोकारवाला निकायलाई निरन्तर खबरदारी गर्ने आफ्नो भूमिकाबाट नडगमगाउन शिलापत्र टिमलाई सुझाव पनि दिएका छन् ।
शिलापत्रले उद्यमशीलता, नवप्रवर्तन, उम्दा प्रतिभाहरू प्रोत्साहित हुनेगरी गरिरहेका रिपोर्टिङहरू समाज रूपान्तरणका लागि निकै महत्वपूर्ण छन्, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, विभिन्न विषयकेन्द्रित बहस, विमर्श र विवेचनाले विचार निर्माण, कानुन संशोधनका लागि मार्गदर्शन दिन्छ, जसमा शिलापत्रको भूमिका सहयोगी छ, यो क्रम निरन्तर भइरहोस् ।
शिलापत्र मिडिया नेटवर्कअन्तर्गतको शिलापत्र डटकम व्यावसायिक पत्रकारिताका चार वर्ष सफलतापूर्वक पूरा गरी आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिएका हुन् ।

