मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त राजेन्द्रसिंह रावल पदमुक्त

२६ माघ २०७९, बिहीबार २१:०७

सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री शाहले भोलि शपथ लिनेछन्। उनले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। यसअघि प्रदेशसभाको बुधवारको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । रावल एमाले संसदीय दलका नेता हुन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।