उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली राष्ट्रपति बसर अल असादलाई समवेदना पठाएका छन् ।
सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु भएकाप्रति समवेदना प्रकट गर्दै उनले समवेदना सन्देशमा भनेका छन् ।‘म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ’ किमले सिरियाका राष्ट्रपति बसर अल असदलाई समवेदना प्रकट गर्दै भनेका छन ।
टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८,७०० भन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीको विपद् व्यवस्था एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको सङ्ख्या ६,२३४ पुगेको छ । सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न गाह्रो भएको बताए ।
तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ ।
