प्रधानमन्त्री पुरानो गठबन्धनलाई ब्युताउने रणनीतिमा, एमालेका एक नेता यस्तो भन्छन्….

२४ माघ २०७९, मंगलवार ०६:४०

बिगत दुई वर्षदेखि संसदीय निर्वाचनसम्म सँगै रहेका पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू पुरानो गठबन्धनलाई ब्युताउने रणनीतिमा लागेका देखिएका छन् । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र वर्तमान सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का दोस्रो तहका नेताहरू पुरानो गठबन्धन ब्युँताउन लागेका हुन् ।

सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएपछि कांग्रेससमेत त्यसमा सहमत भएको छ । गत पुस १० मा सरकार गठन हुँदा भएको सहमतिअनुसार राष्ट्रपति नेकपा (एमाले)ले पाउनुपर्ने दाबी गर्दै आए पनि पछिल्लो राजनीतिक घटनाक्रमले एमालेको दाबी कमजोर हुँदै गएको देखिन्छ ।

एमालेका एक नेताले प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिक खेल खेलिरहेको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भने – ‘प्रधानमन्त्री प्रचण्डले विदेशी शक्तिहरूको दबाबमा पुरानै गठबन्धन जोड्न खोज्नुभएको छ । तर, त्यति सजिलै हामी पनि कहाँ मिल्न दिन्छौं र १ राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा जोडेर पुरानै गठबन्धन ब्युँताउन खोजियो भने उहाँ पनि खुइलिनुहुन्छ ।’