उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीलाई नआत्तिन आग्रह गरेको छ। आफूहरूले भारत सरकारसँग थप गहुँ ल्याउन पहल गरिरहेकाले व्यवसायीलाई नआत्तिन आग्रह गरेको हो।
मन्त्रालयका उपसचिव श्रीधर गौतमले भारत सरकारसँग थप गहुँ ल्याउन छलफल भइरहेको बताएका छन् । ‘५० हजार मेट्रिक टन गहुँ मार्चसम्ममा आइपुग्छ। त्यसले पुगेन भने हामीले थप गहुँ ल्याउन कुराकानी गरिहेका छौं,’ उनले भने।
भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले गत जेठ १ गते सूचना जारी गर्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा संकटको संकेत देखिएको भन्दै यस्तो प्रतिबन्ध लगाएको हो। खासगरी बिस्कुट, पाउरोटी, कुकिज र बेकरीजन्य उद्योगहरूमा गहुँ अति आवश्यक मानिन्छ। नेपालका मैदा मिल ७० प्रतिशत भारतीय गहुँमा निर्भर छन्। बाँकी ३० प्रतिशत भने स्वदेशी उत्पादनले नै पुग्छ।
