नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रश्न गरेका छन् ।
ज्ञवालीले पत्रकार ऋषि धमलासंग कुरा गर्दै भने ‘प्रचण्डले एमालेलाई राष्ट्रपति दिन सकिँदैन भनेर कतै बोल्नुभएको छैन, त्यसरी बोल्नुहुन्छ भन्ने पनि मलाई लाग्दैन । अहिले सत्तामा रहेका सात दलसँगको सहमति हो कि कांग्रेससँगको पनि सहमति हो ? उहाँले के अर्थमा सहमति भन्नुभएको हो ? विचार मिल्नेहरुसँग भनेको के हो ? कांग्रेसले विश्वासको मत दिएपछि सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको हो भने बाहिर स्पष्ट भन्नुपर्यो । दुइटा नाउमा खुट्टा हालेर गन्तव्यमा पुगिँदैन ।’
उनले माओवादी केन्द्र पुस १० को सहमतिभन्दा दायाँबायाँ जान नमिल्ने पनि स्पष्ट पारे । ज्ञवालीले थपे, ‘मुलुकलाई अहिले चाहिएको स्थिरता हो । तर हामी चक्रव्यूहमा परिरहेका छौं । कहिले रवि, कहिले केमा कुदिरहेका छौ । अहिले राष्ट्रियता एकता कमजोर हुँदा बाह्य चलखेल बढेर गएको छ । अर्थतन्त्र धेरै अप्ठ्यारोमा छ । हेर्दाहेर्दै कोल्याप्स हुन सक्छ । जनतामा चरम फ्रस्टेसन छ । आत्महत्या र आत्मदाह बढेका छन् । त्यसैले माओवादी पुस १० बाट दायाँबायाँ हुन मिल्दैन ।’
प्रधानमन्त्रीले एमालेलाई कर्नर गरेर कांग्रेसलाई राष्ट्रपतिको वचन दिनै नसक्ने पनि उनले औंल्याएका छन् । ज्ञवालीले भने, ‘प्रचण्ड र देउवाको संवादलाई हामीले नजिकबाट नियालिरहेका छौं । यदि पुस २६ मा प्रधानमन्त्तीले एमालेलाई कर्नर गरेर कांग्रेसलाई राष्ट्रपतिको वचन दिएको हो भने त्यो अनहोनी कुरा भयो । तर प्रधानमन्त्रीलाई एमाले, राप्रपालाई बाहिर राख भन्ने दबाब कहीं न कहीं दबाब होला ।’
