राष्ट्रियसभाको उपाध्यक्षमा विपक्षी दलको पनि अर्याललाई समर्थन

२३ माघ २०७९, सोमबार १०:४९

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याललाई निर्विरोध चयन गरिँदैछ।

नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले दिएको जानकारी अनुसार आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता गठबन्धनको उम्मेदवारको रूपमा अर्यालको मात्रै उम्मेदवारी परेको हो।

विपक्षी कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध चयन हुनेभएकी छिन्। राष्ट्रियसभाको उपाध्यक्ष पद विगत एक वर्षदेखि खाली रहँदै आएको थियो।

अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्। राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्।

यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन्।