प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दएिका हुन। उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको बताएका छन् । साथै सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको समेत प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर देखिएको समस्या तत्काल हल गर्ने समेत बताए। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै त्यस्ता अप्ठ्यारालाई छलफल गरेर हल गर्ने जानकारी दिए ।
उनले भने, ‘‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराकानीमा सरकारलाई दिएको समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिस त थियो–राष्ट्रिय सहमति नै गरौं। हाम्रो सत्ता साझेदार बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो। अदालतको निर्णयपछि उहाँहरुलाई केही असहजता भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’’
