श्रीमान्‌ले पेट्रोल छर्केर आगो लगाएकी महिलालाई थप उपचारका लागि काठमाडौँ रिफर

१७ माघ २०७९, मंगलवार १७:५९

श्रीमान्‌ले पेट्रोल छर्केर आगो लगाएकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

कोहलपुर नगरपालिका वडा नं-२ का भानुभक्त विकले २६ वर्षीया श्रीमती गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका छोरा प्रिन्सको मृत्यु भइसकेको छ। गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौँ पठाइएको हो। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईका अनुसार घाँटी र ढाडसहित शरीरको १८ प्रतिशत भाग जलेकी गंगालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो।

जलेका आमा र छोरालाई कोहलपुर मेडिकल कलेजमा उपचार गरेर सोमबार बिहान २ बजे भेरीमा ल्याइएको थियो। बिहान ६:३० बजे छोराको मृत्यु भएको थियो। कोहलपुर प्रहरीले श्रीमती र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।