एक महिला यात्रुद्वारा विमानभित्रै चालक दलका सदस्यमाथि दुर्व्यवहार

१७ माघ २०७९, मंगलवार १५:२२

उडिरहेको विमानभित्रै एक महिला यात्रुद्वारा चालक दलका सदस्यहरूमाथि दुर्व्यवहार भयको छ।

४५ वर्षीया इटालियन महिला यात्रुले अबुधाबीबाट मुम्बईका लागि छुटेको भिस्टारा एयरको विमानमा चालक दलका सदस्यहरूलाई दुर्व्यवहार गरेको र लुगा फुकाल्ने प्रयास गरेको मुम्बई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

गत सोमबार चालक दलका सदस्यहरूले महिलालाई बिजनेस क्लासमा प्रवेश गर्न रोकेपछि घटना भएको हो। विमान मुम्बईमा अवतरण गरेपछि चालक दलका सदस्यले महिला यात्रुलाई प्रहरीलाई बुझाएको समाचारमा उल्लेख गरिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले ती महिलालाई पक्राउ गरेको छ। तर, पछि अदालतले उनलाई जमानतमा रिहा गरिदियो।

भिस्टारा एयरलाइन्सले विज्ञप्ति निकालेर यात्रुले अभद्र र हिंस्रक व्यवहार गर्दै चालक दलका सदस्यलाई अभद्र व्यवहार गरेपछि सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराएको जनाएको छ।

मुम्बई प्रहरीका अनुसार महिलाले इकोनोमी क्लासको टिकट काटेर बिजनेस क्लासमा बस्न चाहेपछि विवाद भएको हो।