साँझसम्म गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाको अल्टिमेटम, प्रधानमन्त्री दवावमा

१७ माघ २०७९, मंगलवार १३:३३

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय नदिने संकेत गरेपछि रबि लामिछाने बालुवाटार पुगेका थिए । तर, बालुवाटार सकारात्मक नभएको छनक पाएपछि उनी अल्टिमेटम दिएर बाहिरिएका छन् ।

‘प्रधानमन्त्री सकारात्मक देखिनुभएन । प्रधानमन्त्रीलाई साँझसम्मको समय दिएका छौँ,’ सभापति लामिछानेको सचिवालयका एक सदस्यले भने, ‘गृह नदिए सरकारबाट बाहिरिने सम्भावना छ ।’ यतिबेला रास्वपा प्रधानमन्त्री प्रचण्डको निर्णयको प्रतीक्षामा रहेको छ । साँझसम्म प्रधानमन्त्रीले गृह मन्त्रालय नदिए रास्वपा सरकारबाट बाहिरिने सम्भावना बढेकाे छ ।

त्यस्तै गृह मन्त्रालय नपाए साँझ पत्रकार सम्मेलन गरेर सरकार छाेडेकाे जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाकाे रहेको छ । तर, गृह पाए सरकारबाट रास्वपा बाहिरिने छैन ।  रास्वपामा सरकारबाट बाहिरिएको खण्डमा  गठबन्धनमा खटपट र अदलबदल आउनेछ । सरकारमा रहेको अर्को ठूलो दल एमाले पनि पूर्वसहमतिअनुसारै रास्वपालाई गृह दिन तयार भएको छ । स्रोतका अनुसार, एमाले अध्यक्ष ओलीले गृह रास्वपालाई नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् ।