उपभोक्ता संरक्षण विभागद्वारा २ वटा रेस्टुराँलाई नगद जरिवाना

१६ माघ २०७९, सोमबार १७:५६

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा रेस्टुराँलाई नगद जरिवाना गरेको छ । सोमवार बजार अनुगमनका क्रममा विभागले काठमाडौंको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्यांक्वेट एन्ड रेस्टुराँ र सिनामंगलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा २ रेस्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरूप १/१ लाख नगद जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए । ‘तीनकुनेमा रहेको रोयल लाउञ्जले ७ वर्षदेखि व्यवसाय दर्ता नगरेको पाइयो, कम्पनी रजिस्ट्रार कार्यालय र प्यान नम्बर रहेछ तर व्यवसाय दर्ता नभएको भेटिएपछि कारबाहीस्वरूप नगद जरिवाना गर्‍यौं,’ उनले भने ।

उनका अनुसार होटल तथा सेवा क्षेत्रअन्तर्गत पर्छन्, सोही अनुसार घरेलु कार्यालयमा दर्ता भएको हुनुपर्छ । सिनामंगलमा ५ वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागको सोमवार कारबाही गरेका होटल तथा रेस्टुराँले तोकिएको जरिवाना रकम ७ दिनभित्र भुक्तानी गर्नुपर्नेछ ।