माओवादीले बुधबार गृहमन्त्रीबारे छलफल गर्ने

१६ माघ २०७९, सोमबार १६:२४

नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठकमा निर्णय राख्ने छन् ।

उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ। गृहमन्त्री सरकारको भएकाले कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन्।

नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्। तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमाले पनि साथ दिएको छ । तर, गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको पनि तयारी छ।

सोमबार बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि मात्र को बन्ने भन्ने थाहा हुने प्रतिक्रिया दिएका छन्। कसलाई गृहमन्त्री बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बनेपछि थाहा हुने बताए।

आज बसेको माओवादी पदाधिकारी बैठकमा संगठनसहितका विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए।