आचार्यको मृत्यु प्रकरण, भाटभटेनीका सञ्चालकसँग प्रहरीले लियो बयान

१६ माघ २०७९, सोमबार १५:३०

मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

आचार्यले आत्मदाहको प्रयास गर्नुभन्दा अघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ ।

त्यहीक्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले स्रोतले बताएको छ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उननीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै’, उनले भनेका थिए ।

उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ भइरहेको प्रहरी स्रोतले बताएको छ । उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ ।