अचानक प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाए, गृहमन्त्री विषयमा पनि छलफल गर्दै

१६ माघ २०७९, सोमबार १०:४०

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

सरकारको नेतृत्वकर्ता दल समेत रहेको माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक मंगलबारलाई सारेर पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ । तर आजको बैठकमा संगठनात्मक र कार्यविभाजन बाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

स्वभाविक रुपमा सवै विषयमा छलफल हुन्छ’, पौडेलको भनाइ छ । स्रोतका अनुसार पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे समेत छलफल हुनेछ । यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।

आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीको दाबी गरेका छन् । तर, लामिछाने विवादमा तानिएसँगै उनले सम्हालेको जिम्मेवारी के गर्ने भन्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्णय गरिसकेका छैनन् । सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई पूर्ववत जिम्मेवारीमा फर्काउन सुझाव दिँदै आएका छन् ।