ऋषि धमलाकी पत्नी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, छिट्टै मन्त्री बनाउने तयारी

१४ माघ २०७९, शनिबार १८:३२

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । भैरहवामा आयोजित एक कार्यक्रममा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी हुन् ।

एलिजालाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीमा प्रवेश गराएकी हुन् । एलिजालाई अहिले नागरिक उन्मुक्ति पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन, तर उनलाई ठूलै पद दिएर पार्टीमा राखिने योजना बनेको यही पार्टीका केही नेताहरुले बताएका छन् ।

कार्यक्रममा चाहिँ रन्जिताले एलिजाले चाहना राखेकाले पार्टीमा प्रवेश गरेको बताएकी थिइन् । उनले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै टुंगो लागेको छैन ।’

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म सरकारमा सहभागी भएको छैन । पार्टीका संस्थापक रेशम चौधरीको रिहाइको माग गर्दै उसले सत्ता साझेदार दलहरुमा दबाब दिइरहेको छ ।

पार्टी सरकारमा जाँदा एलिजालाई मन्त्री बनाउने तयारी भएको पनि बताइएको छ । उनी सांसद नभए पनि छ महिनाका लागि मन्त्री हुन पाउनेछिन् ।एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।